मान्म (कालिकोट), २६ भदौ : कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई जना किसानले व्यावसायिक सतुवा खेती गर्नुभएको छ । गाउँपालिका–५ रुप्साका जसमल बोगटी र वडा नं ७ माल्कोटका श्याम बटालाले सतुवा खेती गर्दै आउनुभएको हो । पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गर्नुभएका उहाँहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनुभएको हो ।
उहाँहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहनुभएको छ । सतुवा एक प्रकारको जङ्गली जडिबुटी हो । त्यसैको खेती गरेर हाल आफूले राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ बोगटी । उहाँ भन्नुहुन्छ,“सतुवा एउटा जङ्गली जडीबुटीको हो, पाच वर्षअघि परीक्षणका रूपमा सुरु रहेको थिए, त्यो सफल भएपछि पछिल्ला केही वर्षदेखि व्यावसायिक खेती गर्न थालेको हुँ ।
हालसम्म १० क्वीन्टल जति बिक्री गरेँे हुँला”, उहाँले भन्नुभयो । बोगटीले करिब ५० हजार सुतवाका बिरुवाको नर्सरी लगाउनुभएको छ । “नर्सरीमा उत्पादन भएका बीउ प्रतिकेजी रु १० हजारदेखि रु १५ हजारसम्म बिक्री हुने गरेको छ । हाल पाँच केजी बीउ उत्पादन गरेको छु”, उहाँले भन्नुभयो, “यो महँगो खाले जडिबुटी हो । अब सय क्वीन्टलसम्म बनाएर बिक्री गर्ने लक्ष्य राखेको छु ।
” उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । अर्का कृषक श्याम बटालाले भन्नुभयो,“सतुवा विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैँसी बिरामी हुँदा खुवाइने चलन छ । पाँच वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएको छु ।” उहाँले बिक्रीको समस्या नहुने तथा पर्याप्त मूल्य पाइने भएकाले खेती सुरु गरेको बताउनुभयो । “तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । मैले खेती गरेको पाँच वर्ष भयो, हाल मसँग १५ क्वीन्टल जति सतुवा छ । यसलाई बढाएर मात्रै एकमुष्ट बिक्री गर्ने लक्ष्य राखेको छु ।
” बीउको राम्रो मूल्य बोगटीले सतुवाको बीउको मूल्य र बजार माग पनि राम्रो रहेको सुनाउनुभयो । “सतुवाको बीउको मूल्य बजारमा राम्रो छ”, उहाँले भन्नुभयोे, “यसको बजार मूल्य प्रतिकेजी रु १५ हजारदेखि २० हजारमा पर्ने गरेको छ ।” सुरुमा उत्पादन भएको सतुवाको बीउको मूल्य थाहा नभएका कारणले सस्तोमा बिक्री गरेको अहिले बजार मूल्य थाहा पाएर महँगोमा बिक्री गर्ने गरेको बोगटीले बताउनुभयो । “जति बढी खेती ग¥यो, त्यति बढी बीउ उत्पादन हुन्छ ।
विगतमा मैले एक केजी मात्र उत्पादन गर्ने गरेको भए अहिले त्यो बढ्दै गएको छ”, उहाँले भन्नुभयो । किसान बोगटी भने प्रचारप्रसारको अभावमा बजार विस्तार हुननसकेको बताउनुहुन्छ । “अहिले प्रचारप्रसारको अभावले बीउ बिक्री हुन सकेको छैन ।
अलिकति बेचे पनि अझै १० केजी बीउ मौज्दात रहेको छ”, उहाँले भन्नुभयो कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिए पनि कुनै पनि सरकारी निकायले प्रचारप्रसार र बजारीकरणका लागि सहयोग नगरेको दुवै किसानको गुनासो छ ।
“यो खेती र सतुवाको महत्वबारे प्रचार हुनसकेमा जिल्लामा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको माग बढ्ने विश्वास छ । अन्य खेतीका लागि सरकारले नै अनुदान दिएर प्रोत्साहन गरिरहेको छ तर यस खेतीको प्रवर्द्धनका लागि कुनै काम भएको छैन”, दुवैको एउटै गुनासो छ । ---
(रासस)
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।