पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तीज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

काठमाडौँ, १२ भदौः काठमाडौँको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाल्नुभयो । सधैँ जस्तै बिहानको खाना खाने समय उहाँहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो । गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुग्नुभएको थियो ।

त्यस अवसरमा श्री पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल हुनुभएको थियो । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो । त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।

” सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहनुभएको छ । अधिकारीले भन्नुभयो, “यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ ।

आँखाबाट बरर आँसु झार्नुहुन्छ ।” गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो । –––

(रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।