जनस्तरको पहलमा हिरासत भवन निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

धरान (सुनसरी), १७ भदौ : जनस्तरको पहलमा धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो । नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहकारी कार्यालयले जनाएको छ । उक्त भवन रु दुई करोड नौ लाख २६ हजार १२ मा निर्माण भएको भवन निर्माण समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारबाट रु ५० लाख, धरान उपमहानगरपालिकाबाट रु २३ लाख र प्रतिनिधि सभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट रु १० लाख, धरान युके समाजको रु १० लाख र देश विदेशमा रहनुभएका विभिन्न सङ्घसंस्था र दाताहरुबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको कोषाध्यक्ष राईले बताउनुभयो । दुई तलाको हिरासत भवनमा आठ वटा कोठा छन् ।

ती कोठामा दुई सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । उक्त हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमूना बनेको भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पुर्व प्रमुख मिनबहादुर सुब्बाले बताउनुभयो । उहाँका अनुसार भविष्यमा पाँच तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र त्यही अनुसार जग निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “२०७५ सालबाटै समिति बनाएर जनस्तरबाट बजेट जुटाउन सुरु गरिएको थियो हाल आएर निर्माण सम्पन्न भएको छ ।

” भवन २०७५ सालमा प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको थियो । हाल उहाँ आफैँ मुख्यमन्त्री हुँदा शनिबार भवनको उद्घाटन गर्नुभएको छ । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय हिरासत भवनको चाँबी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुलाई भवन निर्माण समितिका अध्यक्ष मिनबहादुर सुब्बाले हस्तान्तरण गर्नुभएको थियो । ---

 (रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।