गलकोट (बागलुङ), १६ असोजः बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो । इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मङ्गलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाइ छ । भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको रु दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई रु एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।